हेटौँडा । मकवानपुर प्रहरीले ५६ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले आइतबार बिहान मकवानपुर मनहरी गाउँपालिका वडा नं. ८ सिमपानी बस्ने वर्ष २७ को अनिल कुमार थिङलाई लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना.६ ख २३४४ नम्बरको कन्टेनर गाडिबाट चालक थिङसहित गाँजा बरामद गरेको हो ।
कन्टेनरको चालक बस्ने सिट माथि क्याबिनको भागमा लुकाएर ल्याइएको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बरामद भएको गाँजा, कन्टेनर गाडि सहित पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट दश दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्