हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मानवीय वातावरण र सम्पदालाई जोगाउनुपर्ने बताएका छन । जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण विषयक कार्यक्रमलाई सोमबार हेटौँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले वातावरण नराम्रो हुँदा सबैलाई प्रभाव पार्ने भएकाले वातावरण जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए । वातावरण प्रभाव मूल्याङ्कन गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै ऐन कानुनी बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए । जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोदै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढेको प्रति चिन्ता व्यक्त गरिन । उनले नीतिगत रूपमा मन्त्रालय सहयोग गर्न प्रतिबद्धता जनाइन। सार्वजनिक सम्पदाको जोगाउन नसके पहिचान पनि मेटिँदै जाने बताउँदै उनले सम्पदाको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिइन ।

राजनीतिक रूपमा महिला अगाडि बढेको बताउँदै अब आर्थिक रूपमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन । महिला र युवालाई सशक्त बनाउन सामाजिक विकास मन्त्रालय लागिरहेको बताउँदै उनले महिला विकास निर्माणको कार्यमा लाग्नुपर्नेमा जोडदिइन। आफ्नै देशमा रोजगारीको सिर्जना गर्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय रूपमा पनि महिलालाई जोड्नुपर्ने उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सुविधाको नाममा पृथ्वीलाई मानव समुदायले ध्वस्त बनाउँदै लगेको बताए । जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेको प्रति चिन्ता व्यक्त गरे।

ग्रामीण, सीमान्तकृत समुदायमा रहेका महिला जलवायुको परिवर्तनका कारण बढी प्रभावित भएको सक्रिय महिला समूह चितवन कार्यक्रम संयोजक सुजता बर्तौलाले बताइन । वन, वातावरण र पानीको स्रोत संरक्षण गर्न चुनौती भएकोमा उनले चिन्ता व्यक्त गरिन ।

बागमती प्रदेश सभा सदस्य एवम् वन तथा वातावरण समिति सदस्य भारती पाठकले समन्वय, सहकार्य र सहअस्तित्वसहित अगाडि बढेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न लाग्नुपर्ने बताइन । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वय नहुँदा समस्या भएको बताइन। कार्यक्रममा एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जलवायु परिवर्तन र यस्ले पारेको असरबारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

प्रदेश स्तरीय संवाद कार्यक्रममा सङ्घीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्ने लगायतका विषयमा बृहत् छलफल भएको थियो । संवाद कार्यक्रम स्थलमा वनसँग जोडिएर उत्पादन गरिएको साबुन, ढक्की, महको लगायतका स्टल राखिएको थियो । मकवानपुर महिला समूह अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । गाेरखापत्रबाट साभार