
हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको संरक्षण गर्नुका साथैं रैथाने खानाको प्रयोगलाई प्राथमिकता दिएको छ । पालिकाले यहाँ हुने मेला, महोत्सवमा रैथाने बालीबाट बनेका खाद्य परिकारलाई प्राथमिकता दिएको हो । मकवानपुरगढी कृषि शाखाको आयोजनामा भएको रैथाने बाली खाद्य परिकार मेलामा यहाँ स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्न बिक्रीका लागि राखिएको थियो ।
आफ्नै माटो, आफ्नो जात, स्वास्थ्य जीवनको आधार भन्ने मूल नाराका साथ जुनेलोको लड्डु, कोदोको बिस्कुट, निम्की, फापरको सेल, फुलौरा, स्थानीय स्तरमा पाइने पिँडालु खाजाका रूपमा मेलामा राखिएको थियो । यहाँ स्थानीय स्तरमा उत्पादन भएको अमला, भटमास, कोदो, लोकल राजमा, मास, सेतो सिमी, तिते फापर र तरकारी विक्री गरिएको थियो ।
यहाँको पालिकाले रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि यहाँको सामुदायिक विद्यालयहरूमा दिवा खाजामा समेत रैथाने वालीको प्रयोग गर्दै आएको छ । कार्यपालिकाले निर्णय गरेरै पालिकामा रहेका सामुदायिक विद्यालयलाई हप्तामा एकपटक रैथाने बालीको खाजा खुवाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।
त्यस्तै यहाँ उत्पादन भएको रैथाने वालीको मूल्य निर्धारण पनि गरिएको कृषि शाखा प्रमुख गोपाल लम्सालले जानकारी दिए । पालिकाले किसानका लागि उन्नत विउ वितरण, सङ्कलन र बजारीकरणका लागि सहजीकरण गर्दै आएको जानकारी दिर्दै उनले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई प्रोत्साहन गर्दै आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्