हेटौँडा । अन्तर्राष्ट्रिय वीलभयू फाउण्डेसनको आयोजनामा जितपुर सिमरामा बुधवार भएको रक्तदान कार्यक्रम तीन सय जनाले रक्तदान गरेका छन् । आमाको प्रेम सारा संसारमा भन्ने नाराका साथ फाउन्डेसनले सिमरामा अवस्थित एवरग्रीन तराई सिमरा अस्पतालको सभा हलमा रक्तदान गरेको वीलभयू फाउण्डेसन सदस्य मिलन चौलागाईले जानकारी दिए ।

जीपुर सिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जीपुर सिमरा उपमहानगरपालिका २ नं. वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक सुभद्रा लामा, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले रगतको अभाव भइरहेका बेला आयोजना गरिएको रक्तदान कार्यक्रमको प्रशंसा गरे ।

रक्तदान कार्यक्रममा विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको ‘विश्वव्यापी रक्तदान अभियान’मा सहभागी हुन वीरगन्ज, हेटौँडा, बस्तीपुर, चपुर, हरिवन, बर्दिबास र सिन्धुलीका सदस्यहरूको सहभागिता रहेको थियो ।

फाउण्डेशनले यसअघि काठमाडौँ, भक्तपुर, ललितपुर, नेपालगन्ज लगायतका स्थानमा रक्तदान कार्यक्रम गरिसकेको संस्थाका सदस्य चौलागाईले जानकारी दिए । सन् २००४ मा कोरियाबाट सुरु भएको रक्तदान अभियानको यो २२ औँ वर्ष हो । अहिलेसम्म ६४ वटा देशहरूबाट ५२ हजार २०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन् ।