हेटाैँडा । मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले ३१३औँ साहित्य श्रृंखला एवं ३२औँ वार्षिक उत्सवका अवसरमा अयोजना हुने बकैया कला साहित्य महोत्सव २०८१ मा विभिन्न विद्याका १० जना स्रष्टासहित ११ जनालाई सम्मान गर्ने भएको छ।

झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले १६ र १७ फागुनमा दुई दिन चल्ने साहित्य महोत्सवका अवसरमा विविध कार्यक्रमसँगै सम्मान समर्पण गर्ने जानकारी दिए। उनका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचनावाचन र नवसर्जक रचनावाचनलगायतका कार्यक्रम गरिनेछ।

झरनाका सचिव मसान उपासकले यस वर्ष एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पुर्‍याएका ११ जना व्यक्तित्वलाई नगदसहित सम्मान गर्ने जानकारी दिए। उनका अनुसार नगद २१ हजार १२१ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८१ भैरहवाका साहित्यकार प्राध्यापक डाक्टर कपिलप्रसाद लामिछानेलाई प्रदान गरिनेछ। १५ हजार ५५५ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान यस वर्ष इलामका शिव अधिकारीलाई प्रदान गरिने भएको छ । यो पुरस्कार भने चैतको चौथो शनिबार हेटौँडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिनेछ।

यस्तै, १५ हजार ५५५ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मुक्तककार देवराज खरेल, नगद ८ हजार पाँच सय राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ मकवानपुरका बिर्खे अञ्जान र मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिँदै आएको नगद ७ हजार ७७७ राशिको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ बबी थापालाई प्रदान गरिने भएको छ।

यसैगरी, ७ हजार ७७७ रुपैयाँको सञ्जीवनी बुटी साहित्य सम्मान–२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिनेछ भने बकैयाका नवप्रतिभाको सम्मान गर्ने ५ हजार ५५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ सन्तोष वि.क.लाई प्रदान गरिनेछ। बकैयामै रहेर कलाका क्षेत्रमा योगदान गरेबापत प्रदान गरिने ७ हजार ७७७ सहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ यस वर्ष मूर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिने भएको छ ।

झरनाका सचिव मसान उपासकका अनुसार यस वर्ष छन्द कवितामा उल्लेख्य योगदान गरेबापत नगद ७ हजार ७७७ राशिसहितको ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्न विरही घिमिरे र पत्रकारिताका माध्यमबाट संस्थाको उन्नयनमा सहयोग गरेबापत ११ हजार १११ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ मकवानपुरका ज्योति न्यौपानेलाई प्रदान गरिने भएको छ।

यस्तै, बकैया गाउँपालिकाभरिका विद्यालयहरूमध्ये उत्कृष्ट शिक्षक–२०८१ बुद्ध माविका हरि घिमिरेलाई सम्मानपत्रबाट सम्मान गरिने सचिव मसान उपासकले जानकारी दिए।

Visited 15 times, 1 visit(s) today