
हेटाैँडा । मकवानपुरको मनहरी गाउँपालिका– ७ मा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेकी बाराको कोल्वी नगरपालिका– ५, कवडीकी ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी– ७, रमनटारमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको क्रंक्रिट मिक्सर ट्रकले ठक्कर दिएको हो। उपचारका लागि हेटौँडा अस्पताल पुर्याउनेबित्तिकै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलचालक बाराको कोल्हवी नगरपालिका– ५ का शिवकुमार चौधरी र रौतहट घर भएका चौधरीका साडुभाइका अन्दाजी ५ वर्षीय छोरा अन्स चौधरी घाइते भएका छन्। शिवकुमार र अन्स दुवैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्कर दिने ट्रक र चालक मनहरी गाउँपालिका– ९, ज्यामिरेका ४९ वर्षीय धनबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय मनहरीको टोलीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्