हेटाैँडा । मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या गरेका हुन् ।

बिहीबार दिउँसो १४ः२० बजेको समयमा ५० वर्षीया तुलमाया गोपालीलाई छिमेकी देवर नाता पर्ने ३५ को विमलमान गोपालीले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार मृतक महिलाको टाउको र जिउ छुट्टिएको छ ।

प्रहरी हत्यामा संलग्न विमलमानलाई खोजतलास गर्ने क्रममा  दिउँसो १५ः३५ बजेको समयमा थाहा नगरपालिका ३ थाना बजारबाट प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पालुङमा ल्याई राखिएको छ ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान पुरा गरी शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको छ । मृतकको माइती थाहा १ कुन्छालमा नै रहेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।