
हेटाैँडा। बागमती प्रदेश सभा सचिवालयले संसदीय विधि व्यवस्थापनको प्रकृया तथा संसदीय पत्रकारिताका विषयमा सञ्चारकर्मीले निर्वाह गर्नुपर्ने भूमिकाबारे अभिमुखीकरण प्रदान गरेको छ । बुधबार र विहीबार दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २० जना पत्रकारको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाली पत्रकारिताको अभ्यास र चुनौती र दुर्गा खनालले राजनीतिक र संसदीय पत्रकारिताको प्रवृत्ति र चुनौतीका विषयमा सहजीकण गरेका थिए ।
कार्यक्रम उद्घाटनमा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पछिल्लो समय सूचना प्रविधिमा भइरहेको विकासले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको बताए । उनले छापा, रेडियो, टेलिभिजन हुँदै अहिलेको एआइसम्मको विकासलाई पछ्याउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । ‘सूचना प्रविधीको विकाससँगै सञ्चार माध्यमको भूमिकामा पनि परिवर्तन आएको छ ।’ उनले भने, ‘सामाजिक सञ्जालले हरेक नागरिकलाई सञ्चारकर्मी बनाएकाले समाजमा सही सूचना सम्प्रेषणमा समस्या सिर्जना भएको छ ।’
उपसभामुख अपसरा चापागाईँले सञ्चारमाध्यम जिम्मेवार ढङ्गबाट अघि बढ्नुपर्ने तर्क राखिन् । संविधान निर्माणदेखि विकास निर्माणका कार्य अगाडि बढाउन पत्रकारको भूमिका रहेको बताउँदै पछिल्लो समय सञ्चार क्षेत्रमा भइरहेका सकारात्मक परिवर्तनप्रति उनले खुसी व्यक्त गरिन् । कार्यक्रममा बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेल, उपसचिव होमनाथ रिजाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर लगायतकाको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्