हेटाैँडा । मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२ मा कुल बजेटको ७५.३५ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले सार्वजनिक रूपमा प्रस्तुत गरेको वार्षिक खर्च विवरणअनुसार, चालू आवमा ९३ करोड रुपैयाँको बजेटमध्ये करिब ४८ करोड ५० लाख ८ हजार रुपैयाँ खर्च भएको हो ।

गाउँपालिकाले कुल खर्चमध्ये पुँजीगत शीर्षकमा २१ करोड ७२ लाख ८४ हजार रुपैयाँ (४४.८२ प्रतिशत) र चालू शीर्षकमा २६ करोड ७७ लाख २४ हजार रुपैयाँ (५५.१८ प्रतिशत) खर्च गरेको उल्लेख छ। प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सार्वजनिक वित्तीय पारदर्शिता कायम राख्ने उद्देश्यले खर्च विवरण सार्वजनिक गरिएको जानकारी दिए। उनले आमनागरिकलाई गाउँपालिकाको आय–व्यय तथा विकासगत अवस्थाबारे जानकारी दिने उद्देश्यले विवरण सार्वजनिक गरिएको बताए ।

श्रेष्ठका अनुसार बकैया गाउँपालिका सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। उनले स्वास्थ्य, शिक्षा, कृषि तथा वातावरणमैत्री पूर्वाधारलाई विशेष प्राथमिकता दिँदै विकास योजना कार्यान्वयन भइरहेको जानकारी गराए। ‘समृद्ध बकैया निर्माणको मूल आधार’ नारासहित अगाडि बढेको गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ ।