मियुन (चीन)। बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । उत्तरी चीनका विस्तृत भूभागहरूमा मुसलधारे वर्षाले घातक पहिरोहरू निम्त्याएको राज्य सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।

मौसम अधिकारीहरूले राजधानी, छिमेकी हेबेई र तियानजिनका साथै उत्तरी, पूर्वी र दक्षिणी चीनका अन्य १० प्रान्तका लागि दोस्रो उच्च वर्षाको चेतावनी जारी गरेको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । वर्षा बुधबारसम्म जारी रहने अपेक्षा गरिएको छ । “सोमबार मध्यरातसम्म पछिल्लो चरणको भारी आँधी वर्षाले बेइजिङमा ३० जनाको ज्यान लिएको छ,“ सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै भनेको छ ।

चिनियाँ राजधानीमा मात्रै ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सरकारी आउटलेट बेइजिङ डेलीले सामाजिक सञ्जालमा जनाएको छ । सहरको केन्द्रबाट उत्तरपूर्वमा रहेको उपनगरीय जिल्ला मियुनमा सबैभन्दा बढी मृत्यु भएको बताइएको छ । सहरको उत्तरमा रहेको हुआइरोउ जिल्ला र दक्षिणपश्चिममा रहेको फाङ्सान पनि नराम्ररी प्रभावित भएको राज्य सञ्चार माध्यमले जनाएको छ ।

दर्जनौँ सडक बन्द भएको र १३० वटाभन्दा बढी गाउँले बिजुली गुमाएको बेइजिङ डेलीले जनाएको छ । “कृपया मौसम पूर्वानुमान र चेतावनीहरूमा ध्यान दिनुहोस् र आवश्यक नभएसम्म जोखिमपूर्ण क्षेत्रहरूमा नजानुहोस्”, आउटलेटले भन्यो । एजेन्सीकाे सहयाेगमा