हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता भएका छन । मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन भएका हुन ।

गहुँगोरो वर्ण, अन्दाजी ४ फिट उचाइ र पातलो शरीर हुलिया भएका बालक बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । छोरा हराएपछि उनका बाबु विशाल गोलेले प्रहरीमा खोजतलासका लागि पुगेका थिए। पारिवारिक स्रोतका अनुसार बालक सुस्त मनस्थितिका रहेका थिए । घरबाट आफ्नो बुबासँग कापी च्यातेको विषयमा सामान्य विवाद भई निस्केर हिँडेको, आफ्नो आफन्त नाता गोता कोही कसैकोमा नपुगेको र घरमा फर्की नआएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बालक हराई सम्पर्कविहीन भएपछि खोजतलासका लागि बालकका बाबुले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलमा आएर मौखिक जानकारी गराएका थिए । सम्पर्कविहीन बालकको खोजतलासका लागि अस्थायी प्रहरी पोस्ट हरियाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईको नेतृत्वको टोलीले आफन्तसँग समन्वय गरी खोजतलास कार्य गरिरहेको छ ।