हेटौँडा । हेटौँडा–२ देवीपथस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। साधारणसभामा संस्था अध्यक्ष मिठाराम दाहालले संस्थागत प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष केशव प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन सार्वजनिक गरे। त्यस्तै, लेखा सुपरिवेक्षण समितिका संयोजक तेजप्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए।

साधारणसभामा शेयर सदस्य अर्पण पराजुलीले सहकारी संस्था, शेयर सदस्य तथा सरोकारवालाले गर्नु पर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। अध्यक्ष दाहालको सभाध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति, लेखा समिति, शेयर सदस्यहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नयाँ परिपत्रअनुसार यस वर्ष साधारणसभामा अन्य सहकारी संस्थालाई आमन्त्रण नगरिएको व्यवस्थापक बद्री भण्डारीले जानकारी दिए।

सहकारीले वार्षिक साधारणसभामा उत्कृष्ट योगदान गर्ने विभिन्न व्यक्तिहरूलाई पुरस्कृत गर्ने जनाएको छ। ज्येष्ठ शेयर सदस्य, असली बचतकर्ता, असली कारोवारी, उत्कृष्ट बाल बचतकर्ता, एसईईमा उत्कृष्ट अंक हासिल गर्ने, स्नातकमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई २०८३ बैशाख ३ गते पुरस्कार वितरण गरिने छ।

सहकारीको वर्तमान वित्तीय अवस्थाअनुसार संस्थाको खुद शेयर पूँजी २ करोड ९१ लाख ९८ हजार, कुल शेयर पूँजी ३६ करोड ३३ लाख ४३ हजार, ऋण लगानी २९ करोड ५२ लाख ६४ हजार र जगेडा कोष ३ करोड ५० लाख रहेको संस्थाले जनाएको छ। सहकारीमा १ हजार १ सय ६८ पुरुष, १ हजार ४ सय ९६ महिला तथा ६ संस्थागत सदस्यसहित कुल २ हजार ६ सय ७० शेयर सदस्य रहेका छन्।

भीमसेन पौडेल
थप जानकारी