हेटाैँडा । जिल्लाका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट प्रयोग भएका मोटरसाइकल तथा इभी गाडीसमेत बरामद गरी सबै घटनामा पक्राउ परेकाहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार हेटौँडा उपमहानगरपालिका– ५, सानोपोखरा चोकस्थित पुष्पलाल पार्क जाने बाटोबाट हेटौंँडा– ९, त्रिवेणी बस्ने २२ वर्षीय सुमित थापामगरलाई पक्राउ गरेको छ । उनको साथबाट रातो प्लास्टिकका २४ पोकामा राखिएको दुई ग्राम ९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीका जानकारी दिए ।

उनका अनुसार प्रहरीले पक्राउ परेका थापामगरले प्रयोग गरेको ना.२३प ४३४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

यस्तै, प्रहरीले सोही दिन हेटौँडा– १५, रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा म.प्र.०३–०३१ प ६९९० नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । शंका लागेर खानतलासी गर्दा पर्सा जिल्लाको वीरगन्ज माहानगरपालिका– ३१ बस्ने २१ वर्षीय शिव पासवान र २३ वर्षीय नीरज चौधरीलाई जुत्ताभित्र लुकाएर ल्याएको १६० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ । त्यसै दिन राति ९:१० बजे रातोमाटेस्थित राजमार्गमै गरिएको नियमित जाँचका क्रममा दुईवटा यात्रुवाहक इभी गाडीबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ज ७९८३ नम्बरको इभी गाडीमा सवार चितवन राप्ती नगरपालिका– ८ बस्ने २८ वर्षीय कर्ण गुरुङको साथबाट एक ग्राम ६२० मिलिग्राम खैरो हेरोइन फेला परेको थियोे ।

यस्तै प्रहरीले बागमती प्रदेश ०६–००१ ज ०४४१ नम्बरको अर्को इभी गाडीमा सवार हेटौँडा–१२ बस्ने २७ वर्षीय सन्तोष आलेमगर र मनहरी– ३ बस्ने ३० वर्षीय सानुकान्छा राईको साथबाट ४८० मिलिग्राम लागुऔषध बरामद गरेको थियो ।  तीनैजनालाई नियन्त्रणमा लिई म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कुर्मीका अनुसार सबै घटना लागुऔषध कसुरअन्तर्गत दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।