हेटौँडा । जेनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागार र हेटौँडाको बाल सुधार गृहबाट फरार रहेका तीनजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
भीमफेदी कारागारबाट फरार भएका जर्वजस्तीकरणी मुद्दाका मकवानपुरको बागमती गाउँपालिका कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङतान, लागुऔषध मुद्दाका हेटौँडा उपमहानगरपालिका–७ हरियाली घर भएका २२ वर्षीय विशाल गोलेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । बाल सुधारगृह हेटौँडाबाट फरार लागूऔषध मुद्दाका एकजना बालकलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
माघ १७ र १८ गते पक्राउ परेका तीनजना कैदीबन्दीलाई भीमफेदी कारागार र बालसुधार गृह पठाइएको उहाँले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारको पर्खाल फुटाएर ४ सय ४० जना कैदीबन्दी भागेका थिए ।
त्यस्तै हातहतियार, लागुऔषध, चोरी र चेकअनादर मुद्दामा अदालतद्वारा दोषी ठहर भएर फरार रहेका ७ जना प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । मकवानपुर प्रहरीले अदालतको फैसलालाई कार्यान्वयन गर्ने उद्देश्यका साथ दोषी ठहर भएर कैद र जरिवाना तोकिएका फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्न थालेको हो ।
हातहतियार तथा लागुऔषध मुद्दाका फरार अभियुक्त मकवानपुर कैलाश गाउँपालिका–६ का २७ वर्षीय विजयकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । हातहतियार र लागुऔषध मुद्दामा जिल्ला अदालत मकवानपुरले मोक्तानलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
लागुऔषध मुद्दामा जिल्ला अदालत मकवानपुरले एकमहिना १७ दिन कैद तोकेका हेटौँडा उपमहानगरपालिका–१७ का ३८ वर्षीय अर्जिनकुमार राउतलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध मुद्दामै फरार अभियुक्त हेटौँडा उपमहानगरपालिका–१४ का ३१ वर्षीय चन्द्रबहादुर गोलेलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।
गोलेलाई अदालतले एकवर्ष कैद र ५ हजार ४ सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला अदालतले चोरी मुद्दामा चार महिना कैद तोकिएर फरार रहेका हेटौँडा–१६ का २८ वर्षीय विनय विकलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिए ।
चोरी मुद्दाका फरार प्रतिवादीद्वय हेटौँडा–१९ का मनोज लामा र आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा प्रतिवादीद्वयलाई अदालतले तीन÷तीन महिना कैद गर्ने फैसला गरेको थियो । यसैगरी चेकअनादर मुद्दाका फरार अभियुक्त हेटौंडा उपमहानगरपालिका–१३ का ३८ वर्षीय बुद्ध गोलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । अदालतले गोलेलाई ३ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । ७ जना फरार प्रतिवादीहरुलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।
जिल्ला प्रहरी मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६३ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।












प्रतिक्रिया दिनुहोस्