हेटौंडा । अनाथ अपाङ्ग पुनस्र्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि नेपाल तरुण दल मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–१४, मयुरधापस्थित केन्द्रमा आश्रित बालबालिकाको भरणपोषणमा समस्या भइरहेको जानकारी पाएपछि शुक्रबार तरुण दलले चामल, दाल, तेल, नुन, आलु, प्याजलगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, उपाध्यक्ष निराजन बर्तौला, जिल्ला सदस्य एवम् कार्यक्रम संयोजक राजकुमार बास्तोलालगायतले केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई करिब २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । आश्रममा हाल १३ जना अपाङ्ग तथा अभिभावकबिहीन बालबालिका आश्रित रहेको केन्द्रका अध्यक्ष रामहरि कोइरालाले जानकारी दिए ।

कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सन्तोष सापकोटा, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति मोहन नगरकोटी, नेपाली कांग्रेस हेटौंडा–१४ का सभापति मनोज थिङ, तरुण दल जिल्ला कार्यसमितिका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।