हेटौंडा। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक ठाउँमा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसँगै अब कार्ड खोज्नुपर्ने अवस्था आएको छ ।

झण्डै एक वर्षअघि नै खोप लगाइसकेका र विदेश आउजाउ गरिरहनु नपर्नेहरुको लागि नेपालमा यसअघि खोप कार्ड देखाइरहनु पर्ने आवश्यकता थिएन । जसले गर्दा धेरैको खोप कार्ड हराउने वा नासिने समस्या देखिएको छ । तर अहिले सीसीएमसीले एक्कासी खोप कार्ड अत्यावश्यक गराएपछि खोप लगाएकाहरु के गर्ने भन्ने दुविधामा देखिएका छन् ।

कोरोना खोप लगाएको कार्ड हराएको छ भने जुन जिल्लामा खोप लगाएको हो, सोही जिल्लाको स्वास्थ्य कार्यालयमा गएर सम्पर्क गर्नुपर्दछ। कोरोना खोप लगाएको रेकर्ड सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा बुझाइने भएकाले सम्बन्धित जिल्लामै गएर नयाँ कार्ड बनाउनु पर्ने हुन्छ।

हुन त, खोप कार्ड भन्दा पनि कार्डको फोटोलाई अनिवार्य गरिएको छ । त्यसैले कार्ड हराएको भएपनि खोप कार्डको फोटो देखाएर पनि सार्वजनिक सेवा लिन सकिन्छ । तर नयाँ कार्ड नै बनाउनुपर्ने अवस्था भएमा जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।