हेटौँडा । सामुदायिक रेडियो शक्ति एफएम १०३.४ मेगाहर्जले माघ १ गतेदेखि साँझको कार्यक्रमहरुलाई पूर्णरुपमा समाचारमूलक बनाउने भएको छ । साँझ ६ बजे उज्यालो नेटवर्कको नेपालखबर प्रसारणबाट लगातार राति ९ः१५ सम्म समाचार बुलेटिनहरु मात्र बजाउने एफएमले जनाएको छ ।

साँझ ६ः१५ बजे शक्ति एफएमको आफ्नै प्राइम बुलेटिन ‘शक्तिखबर’, ७ बजे रेडियो नेपालको समाचार, ७ः१५ मा शक्ति एफएमकै बुलेटिन ‘बागमती दिनभर’, ७ः३० बजे सिआइएनको ‘साझाखबर’ प्रसारण हुनेछ । यस्तै, ८ बजे नेपाल एफएम ९८.१ को ‘नेपाल सेरोफेरो’, ८ः३० बजे मनहरी एफएम १०४.३ मेगाहर्जको मनहरी सेरोफेरो र राति ८ः४५ बजे बिबिसी नेपाली सेवा प्रसारण गरेर आफ्ना स्रोतालाई ३ घण्टा १५ मिनेट लगातार समाचार पस्कने एफएम व्यवस्थापनले जनाएको छ ।

केही समयपछि नै नेपाल एफएम नेटवर्क र रेडियो पालुङ १०७.२ मेगाहर्जसँग सहकार्य गरेर अन्य समाचारमूलक कार्यक्रमहरु थपेर मकवानपुरको सबै भूगोलमा शक्ति एफएम सुन्न सकिने बनाउने तयारी भइरहेको रेडियोले जनाएको छ ।

बिहान ४ बजेदेखि प्रसारणमा रहेको रेडियो राति १० बजेसम्म प्रसारणमा रहेको छ । छिट्टै बिहान पनि ६ बजेदेखि सवा ९ बजेसम्म समाचारमूलक कार्यक्रम र बलुेटिनहरु थपिने एफएमले जनाएको छ । रेडियो www.shaktikhabar.com, www.hamropatro.com र www.hamro.com बाट पनि अनलाइनमा सुन्न सकिन्छ ।