हेटौंडा । बागमती प्रदेश सरकारले काठमाडौं उपात्यका सहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी सधानको भाडा बृद्धि गरेको छ ।

प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको जानकारी दिएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार बृद्धि भएको भाडा बिहीवारदेखि नै लागू भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारी साधनको भाडा दर ८.३ प्रतिशतले वृद्धि गरिएको छ भने उपत्यका बाहेकका स्थानमा चल्ने सवारी साधनको भाडा दर ५.३१ प्रतिशतले वृद्धि गरिएको छ ।

जस अनुसार अब काठमाण्डौ उपत्यकामा पाँच किलोमिटरसम्मको न्यूनतम भाडादर एक रुपैयाँले बढेर १९ रुपैयाँ कायम भएको छ । यस्तै १० किलोमिटरसम्मका लागि २६ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मका लागि ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिका लागि ४० रुपैयाँ भाडा कायम भएको छ ।

काठमाण्डौ उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने मध्यम दूरीका यात्रुवाहक गाडीको साविक भाडामा ५.३१ प्रतिशतले बढेको छ । यस्तै पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा दर ३.४४ प्रतिशत र मालबाहक सवारी साधनको भाडादर प्रतिकिमि प्रति टन ७.७७ प्रतिशतले वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोहि अनुसार सार्वजनिक सवारी साधन र मालबाहक सवारी साधनको भाडा दर समायोजन गर्दै आएको छ ।