हेटौंडा । मकवानपुर जिल्लामा पछिल्लो समय घरजग्गा कारोबारमा घटेको छ । मालपोत कार्यालय मकवानपुरको पछिल्लो सात महिनाको तथ्याङ्क हेर्दा गत वर्षको सात महिनाको तुलनामा यस वर्ष घरजग्गा कारोबार घटेको देखाएको हो ।

मालपोत कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा आठ हजार ५४२ लिखत पास भएको जनाएको छ । मालपोत कार्यालयका अनुसार शहरी क्षेत्रको तीन हजार ५५५ र ग्रामिण क्षेत्रको एकहजार ३३६ लिखत र धितो तीन हजार ६५० पास भएको तथ्याङ्क छ ।

कार्यालयले चालु आवको हालसम्म कार्यालयबाट राजीनामा पास तीन हजार ६०४ वटा, अंशबन्डा ४०९, बकसपत्र ७४०, दानपत्र २, व्यक्तिगत दृष्टिबन्दक ४१, चक्लाबन्दी ९, छोडपत्र ३२ वटा लिखत पास भएको जनाएको छ । यस्तै सगोलनामा १३, सेब २७, डोर कपाली ५, मानो जोडिएको/छुट्टीएको/दर्ताफारी ७, अन्य सट्टापट्टा ३ लिखत पास भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयले सात महिनाको अवधिमा भएको लिखत पासबाट १६ करोड ६४ लाख ५६ हजार ६३६ रुपियाँ राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय मकवानपुरका प्रमुख मालपोत अधिकृत ओमबहादुर अधिकारीका अनुसार लगभग २० प्रतिशतले घरजग्गाको कारोवार घटेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको अवधिमा मालपोत कार्यालय मकवानपुरमा चार हजार ४३७ जनाको जग्गा पास भएको छ । जसमध्ये महिलाको नाममा दुइ हजार २९, पुरुषको दुइ हजार ३१५ र संयुक्त ९३ नाममा जग्गा पास भएको हो । महिला, दलित, सहिद परिवार, अपांगको नाममा लिखत पास गर्दै दुइ करोड ३७ लाख ९८ हजार २६० छुट भएको मालपोत कार्यालय मकवानपुरका सूचना अधिकारी भिम परियारले जानकारी दिए ।

महिलाको नाममा जग्गा पास गर्दा कायम भएको थैली अंकको आधारमा हेटौँडा नगरक्षेत्रमा २५ प्रतिशत र ग्रामिण क्षेत्रमा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र कैलाश गाउँपालिकाको शिखरकोट पालुङ मालपोत मार्फत जग्गाको कारोवार हुँदै आएको छ ।