हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १९ बस्तिपुरमा थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रर्वद्धनका लागि शनिबारदेखि सात दिने उद्यमशीलता तथा सीप विकास तालिम सुरु भएको छ । प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोग एवं हेडम्वा डेभलपमेन्ट एडभाइजर फाउन्डेसनको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै प्रदेश युवा परिषद् बागमतीका कार्यकारी अध्यक्ष सन्तोष चौलागाईँ थोरै लगानी गरेर साना व्यवसाय गर्न खोजिरहेको नव उद्यमीहरूका लागि लक्षित गरि यो तालिम सञ्चालन गरिएको बताए । उनले तालिमले व्यवसायिक जीवनमा प्रवेश गर्न सहज हुने जिकिर गर्दै मेहनत गर्ने सोचका साथ उद्यम सुरु गरेमा सफल हुन सक्ने विश्वास व्यक्त गरे । मेहनतीहरूका लागि सधैँ उद्यमको सम्भावना रहेकोले युवाहरूलाई उद्यम सुरु गर्न उनले अनुरोध गरे ।

तालिममा नव उद्यमीहरूका व्यवसायिक योजना, व्यवसाय गर्दा ध्यान दिनुपर्ने क्षेत्रहरू,  व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापन, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीति नियमबारे सहजिकरण गरिने छ । चटपटे, पानीपुरी, मम, आलुचप लगायत ठेला तथा साना घुम्ती पसल गरिरहेका र गर्न चाहनेलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हेडम्वा डेभलपमेन्ट एडभाइजर फाउन्डेसनका अध्यक्ष अनन्त कुमार बानियाँले जानकारी दिए । तालिममा मनहरी, पदमपोखरी, बस्तिपुर, हाँडीखोला र बसामाडीमा २० जना युवाहरूको सहभागिता रहेको छ ।

तालिम उद्घाटन कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति सदस्य अन्जु पण्डित, जनजागरण दुग्ध उत्पादन सहकारी संस्था अध्यक्ष देवेन्द्र अर्याल, निर्मल बहुमुखी क्याम्पसका स्ववियु सभापति सरोज अर्याल लगायतकाको उपस्थिति रहेको थियो ।