हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ७३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ । प्रस्तुत बजेटमा चालूतर्फ ४७ करोड २९ लाख चार हजार रुपैयाँ र पुँजीगततर्फ २५ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उपाध्यक्ष तिमल्सिनाका अनुसार सामाजिक विकास क्षेत्रका लागि ३५ करोड २८ लाख ६५ हजार रुपैयाँ छुट्याइएको छ । यस्तै, आर्थिक विकासतर्फ ६ करोड पाँच लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १६ करोड १९ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ३० करोड ९० लाख रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ १२ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । यसअन्तर्गत बागमती फुटबल एकेडेमी सञ्चालन तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने राष्ट्रिय बागमती गोल्डकप प्रतियोगिता सञ्चालनका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । शिक्षा, युवा तथा खेलकुद क्षेत्रका कार्यक्रमका लागि मात्रै कुल पाँच करोड १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउने उद्देश्यसहित गाउँपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको छ । दुध उत्पादन वृद्धि तथा दुग्ध व्यवसायमा संलग्न किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर अधिकतम पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस कार्यक्रमका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ निर्माण सम्पन्न १५ शय्याको आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ७५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।
यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना, पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा खेलकुद क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले सीमित स्रोत–साधनका बाबजुद स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको जनाएको छ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत कृषि उत्पादन वृद्धि, खेलकुद पूर्वाधार विकास, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय उपलब्धि हासिल गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।












प्रतिक्रिया दिनुहोस्