हेटौंडा । नेपाली गजलहरुको सँगालो गजल यात्रा प्रकाशन भएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, हेटौँडा–४ नम्बर वडाका अध्यक्ष नविन सिग्देललगायतले संयुक्त रुपमा गजल यात्रा–४ को विमोचन गरेका थिए । गजल यात्राको नयाँ शृङ्खलामा मकवानपुरसहित अन्य जिल्लाका गजलकारहरुको ५७ वटा गजल समेटिएको छ । संस्थागत गतिविधिको दस्ताबेजीकरण गर्ने तथा नेपाली गजल क्षेत्रको उन्नयनका लागि गजल मञ्चले गजलहरुको सँगालो प्रकाशन गर्दै आएको छ ।
पूर्वअध्यक्ष दीपक गौतम नेतृत्वमा २०६६ र २०६८ मा गजल यात्रा–१ र २ प्रकाशन भएको थियो भने २०७८ मा देवराज तिवारी नेतृत्वको कार्यसमितिले गजल यात्रा ३ प्रकाशन गरिसकेको छ । २०६१ सालमा स्थापित गजल मञ्च मकवानपुरलेस्थापनायता नियमित रुपमा हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आइएको छ । हालसम्म गजल यात्राको २०७ वटा शृङ्खला सम्पन्न भइसकेका छन् ।
गजल यात्रा–४ मा नेपाली गजलकारहरुका गजलका साथै मकवानपुरको गजल इतिहासलाईसमेत समेटिएको मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए । गजल यात्रा–४ ले मकवानपुरे गजल इतिहासमा अर्को एउटा इट्टा थपिने उनले विश्वास व्यक्त गरे । गजल मञ्चले पछिल्लो समय गजलमा नयाँ पुस्ता तयार गर्नका लागि विद्यालयहरुमा नवसर्जक केन्द्रित शृङ्खलाहरु पनि सञ्चालन गरिरहेको छ ।
मञ्चका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा हेटौंडा–४ नम्बर वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमकाबीच पुरुषाेत्तम आचार्य, श्याम बानियाँ, सुवास खनाल, संजित श्रेष्ठ, सुवास सजल, प्रियान्सु विडारी, अनिल काेइरालालगायत १ दर्जनभन्दा बढी गजलकारले गजल वाचनसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्