हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मछिन्द्र फुटबल क्बल फाइनलमा प्रवेश गरेको छ । सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे । खेलको नवौं मिनेटमा थपलियाकोे गोलमार्फत सुरुवाती अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा र ४६ औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफको १४ औं मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै घर्तीले ९१ औं मिनेटमा गोल गरे । एनआरटीका लागि खेलको दोस्रो हाफको १५ औं मिनेटमा विदेशी खेलाडी सेवेले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन ।

खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि भएको क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई हराउँदै एनआरटी सेमिफाइनल प्रवेश गरेको थियो भने जावलाखेल युथ क्बललाई हराउँदै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको थियो ।

फाइनल प्रवेश गरेको मछिन्द्र अब उपाधीका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।