हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफले फाइनलको यात्रा तय गरेको हो ।

एपीएफको जितका फोडे फोफनाले तेस्रो मिनेटमा गरेको गोल निर्णायक साबित भयो । खेलको म्यान अफ द म्याच एपीएफका बुद्धिमान राई घोषित भए । उनले १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । जितसँगै एपिएफले फाइनलमा मछिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल बिहीबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले पाँच लाख रुपियाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।