बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर ।

काठमाडौं । बागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दूहरुका लागि जन्मदेखि मरणोपरान्त वाग्मती नदीको आवश्यक्ता त्यत्तिकै छ ।

हिन्दूहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यक्ता र औचित्य हिन्दूसमान छ ।

बागमती नदीको सभ्यता धेरै गर्विलो छ । बागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो ।

ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको वाग्मती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौं भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन ।

पछिल्लो समय वागमती सरसफाइ अभियानसँगै वाग्मतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने छैन ।

ढल, फोहोर र दूर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ । तर काठमाडौंवासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्ने कुराबाट टाढा छन् ।

काठमाडौं उपत्यकाभित्र त बागमती फोहोर छ । चोभार नजिकबाट काठमाडौं बाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ ।

काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुमबासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित बागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ ।

काठमाडौं उत्तरबाहिनीस्थित बागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक वाग्मती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट बागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको वाग्मती र सुकुमबासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ ।

यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि वागमतीले आफ्नो पुरानो लय समात्नेछ । अनलाइन खबरबाट