हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.५ कुवामा आफैं चढेको बसले किच्दा एकजना वृद्धाको मृत्यु भएको छ । बसले किचेर घाइते भएकी स्थानीय ७० बर्षीया कान्छी माया घलानको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बसबाट ओर्लने क्रममा चालकले बस अगाडि बढाउँदा लड्ेर बसको टायरले किच्दा वृद्धा गम्भीर घाइते भएकी हुन । चखेल मातातिर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आउँदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा कान्छीमाया यात्रा गरि आएकी थिइन् ।

घाइते वृद्धाको उद्धार गरी उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाईएकोमा अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाईएको थियो ।

उनको उपचारको क्रममा शनिवार साँझ ८ बजेर १३ मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक स्थानीय २६ बर्षीय राजकुमार दोङलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी फाखेलले जनाएको छ ।