हेटौंडा । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले गुणस्तरीय काम नगर्नेको निर्माण व्यवसायीको पक्षमा आफूहरु नभएको बताएका छन । निर्माण व्यवसायी सङ्घ मकवानपुर २४ औँ वार्षिक साधारणसभाको शनिबार हेटौँडामा उद्घाटन गर्दै उनले निर्माण व्यवसायीहरुमा कम मूल्यमा ठेक्का सकार्ने प्रवृत्ति पछिल्लो समयमा समस्या बन्दै गएको बताए ।

उनले समृद्धिको सम्वाहक निर्माण व्यवसायी भएको र मुलुकलाई समृद्ध बनाउने काममा हाम्रो योगदान रहने भन्दै म्याद नभएको, माइलस्टोन कारण र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण अहिले काम गर्ने अनुकूल नभएको बताए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष ईन्जिनियर आङ दोर्जे लामाले निर्माण पेशालाई व्यवस्थित गर्ने चुनौती आएको र हामीमा धैर्यता ईमानदारीता आवश्यकभएको बताउँदै क्षमता भएका र इमानदार निर्माण व्यवसायी टिकेको र लोभले समस्यामा परेको बताए ।

बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठले निर्माण व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्ति छाड्नु पर्ने बताउँदै ठेक्कामा सेटिङ गर्ने र काम अलपत्र छाड्ने प्रवृत्ति रहेको बताए ।

निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले राज्य जिम्मेवार नहुँदा निर्माण व्यवसायी मारमा परेको भन्दै निर्माणको कामको शर्त हेरेरमात्र ठेक्का हाल्नु पर्नेमा जोड दिए ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतमा भएको कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, उपमहासचिव शिवहरि घिमिरे केन्द्रीय सदस्य प्रमोद लामिछाने, बागमती प्रदेश समिति अध्यक्ष सुमित श्रेष्ठ, प्रदेश समिति महासचिव राजकुमार बुढाथोकी, मकवानपुरको कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीलगायतले निर्माणको काममा निर्माण व्यवसायी पनि दोषी रहेको, समयमा काम नगर्ने, गुणस्तरीय काम नहुने, कम लागतमा ठेक्का हाल्ने प्रवृत्तिलगायतका समस्या रहेको बताए ।