हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ७ लामिटार चापडमा नौलो सर्प भेटिएपछि नागदेवताको रुप भन्दै पुजा र दर्शन गर्न आउनेको भीड लागेको छ । संजिता सिंतान ब्रामुको घर नजिकै फागुन १२ गते दिउँसो देखापरेको सर्पलाइ नागको रुप मान्दै पुजा गर्ने र हेर्न आउनेको भीड लागेको हो ।

उक्त स्थानमा दैनिक बिहानैदेखि नाग देवता (सर्प) को दर्शन गर्नेहरूको भीड लाग्ने तथा दैनिक मानिसले पूजासमेत गर्दै आएको बागमती गाउँपालिका ८ नं. वडा अध्यक्ष केशव तिमल्सिनाले जानकारी दिए । ‘म पनि दुइ÷तीन पटक यहाँ आइसके, मलाई पनि अनौठो लागेको छ, साच्चै केही न केही शक्ति छ, काठमाडौँ, ललितपुर, चितवनबाट हेर्न मानिसहरु आउनुभएको छ,’ वडाअध्यक्ष तिमल्सिनाले भने । उनले यहाँ सेती नाग मन्दिर स्थापना गर्नुपर्ने बताए ।

त्यस्तै स्थानीय शंकर पराजुलीले मानव र जनावरबिच अन्तरसम्बन्ध रहेकाले सर्पको सबैले संरक्षण गर्नुपर्ने बताउँदै यो आस्थासँग जोडिएको बिषय रहेको बताए । सर्प घर छेउको खेतको दुलोबाट दैनिक बिहान ११ बजे निस्केर अपरान्ह ४ बजेसम्म एउटै स्थानमा बस्ने गरेको बलराम ब्रामुले बताएका छन् । संजिताले उक्त सर्प नाग भएको भन्दै जिउमा बोक्ने संगै राख्ने गर्दै आएकी छिन् । उक्त स्थानमा शिवको प्रतिमा सहितको सानो मन्दिर स्थापना गरिएको छ ।

यता सर्प उद्दारकर्ता सुनिल सापकोटाले सो सर्प नाग नभएर तामे टाउके श्रृगारे सर्प भएको बताए । उनले सर्पलाई घाटीमा नबेर्न र नखेलाउन तथा आस्थाको नाममा भ्रम नफैलाउन आग्रह गरे । हातमा लिएर खेलाएको बच्चाले देख्दा अन्य बिषालु सर्प खेलाउँदा सर्पले टोक्न सक्ने भएकाले सचेत रहन आग्रह गरे ।

सो सर्प बिषालु नभएकाले मानिसलाई हानी नगर्ने, मानिसको घर वरपर देखिने तथा मुसाहरु खाने भएकाले समाउने र थुनेर नराख्न सुझान दिए । ‘सबै सर्पलाई नाग भनेर पुजा गर्ने हो, तर समाउने थुनेर राख्दा समस्या हुन्छ, जनावरलाई टचर भयो,’ उनले भने । दुध चढाउने, धुप बाल्ने र अविर हाल्ने गर्दा सर्पको स्वास्थ्यमा गम्भिर असर परि सर्प मर्न पनि सक्ने भएकाले सर्पलाई नजिकै जंगल वा सुरक्षित स्थानमा छाड्न उनले सुझाव दिए ।