हेटाैँडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दलाल र पुँजीपतिहरूको प्रतिनिधिका रूपमा रहेको आरोप लगाएका छन्। भ्रष्टाचारी र बिचौलिया कारबाहीमा पर्न थालेपछि कांग्रेस र एमालेले उनीहरूलाई जोगाउन आफू नेतृत्वको सरकार ढालेको पूर्वप्रधानमन्त्री प्रचण्डको आरोप छ।
शनिबार मकवानपुरको थाहामा वाइसिएलको दोस्रो नगरसभामा बोल्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन र सुशासनका नाममा कांग्रेस र एमालेले संख्याको बलमा आफ्नो सरकार ढालेको बताए।
‘नराम्रो पनि गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर सरकार सञ्चालन गर्ने इमानदार कोसिस गर्दै सबै बेथिति र विसंगतिको विरुद्ध उभिँदा एमाले र कांग्रेस मिलेर सरकार ढालेको उनको भनाइ थियो।
‘संविधान संशोधन र सुशासन यिनीहरूको बहाना मात्रै हो। देशमा सुशासन कायम हुन थाल्यो, भ्रष्टाचारीहरू कारबाहीमा पर्न थाले भनेपछि मेरो नेतृत्वको सरकार ढालियो,’ उनले भने, ‘भ्रष्टाचारीहरूलाई बचाउनुपर्ने बाध्यता आइलागेपछि तिनीहरूकै प्रतिनिधिका रूपमा एमाले र कांग्रेस सरकारमा छन्।’
अध्यक्ष प्रचण्डले आफ्नो सरकारले राम्रा काम गरेकै स्थानमा अहिलेको सरकारले प्रहार गरिरहेको आरोप लगाए। विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन हदैसम्मको प्रयास गर्नु एउटा उदाहरण मात्रै भएको उनको भनाइ छ।
‘अहिलेको सरकारलाई देश लोडसेडिङमुक्त भएको बिलकुल मन परेको छैन। उनीहरू देशलाई फेरि पनि अँध्यारो युगतिर लान चाहन्छन्,’ प्रचण्डले भने, ‘उनीहरू दलाल पुँजीपतिहरूलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनताहरूलाई तिर्नैपर्ने बाध्यता गर्नका लागि कुलमानलाई निकाल्न लागिपरेका छन्।’
अध्यक्ष प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा आक्रोश रहेको जिकिर गरे। उनले जनताले फेरि पनि माओवादी केन्द्रको नेतृत्वमा एउटा आन्दोलनको नेतृत्व होस् भन्ने चाहेको दाबीसमेत गरे। माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलनको आँधीबेहरी सिर्जना हुने उल्लेख गर्दै त्यसका लागि तयार रहन उनले कार्यकर्ताहरूलाई निर्देशन दिए।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादीलाई कांग्रेस र एमालेले कमजोर ठानेर गल्ती गरिरहेको भन्दै चेतावनी दिए। उनले माओवादीलाई चिलको संज्ञा दिँदै उनले जुनसुकै वेला र परिस्थितिमा चिलले जस्तै माओवादीले पनि उडान भर्न सक्ने दाबी गरे। उनले माओवादीले देशबाट भ्रष्टाचारीहरूलाई निर्मूल नपारुन्जेल विश्राम नलिने बताए। नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्