हेटौंडा । प्रदेश युवा परिषद् बागमतीले युवालक्षित सीप विकास तालिम सुरु गरेको छ । यसक्रममा छनोट भएका तीन सय पाँच जना युवाका परिषद्ले तालिम सुरु गरेको हो ।

युवाहरूलाई कुक, वेटर, बारिष्टा, मन्टेसरी, ब्युटीपार्लर र वेल्डिङ, इलेक्ट्रिसियन जस्ता विषयमा तालिम दिन लागिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । चौलागाईले आफ्नो कार्यकालमा बागमती प्रदेशका बढीभन्दा बढी युवालाई दक्ष, उद्यमी र सक्षम नागरिक बनाउन प्रयासरत रहेको बताए ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले तालिम उद्घाटन गरेका थिए । मन्त्री महर्जनले युवाहरूलाई सीप प्रदान गरी गाउँ, समाज हुँदै देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन सकिने बताए ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, हेटौँड़ा उपमाहानगर–४ का वडाअध्यक्ष नबीन सिग्देल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्जल चौलागाईं, मकवानपुर पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, परिषद्का सदस्य सुरज थापा मगर (किरण), कार्यालय प्रमुख रमेश घिमिरे लगायतकाको उपस्थिति रहेको थियो ।