धादिङ । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताएका छन । शुक्रबार धादिङबेसीमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सबको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै मानव मानवबीचका द्वन्दहरु घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्वपूर्ण विधा भएको बताए ।

साहित्य मानव मस्तिष्कको उपजको रुपमा उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले साहित्य लेखनमात्र नभएर भावना, संवेदनासमेत भएको बताए । साहित्यले कला, संस्कृति, मूल्य, मान्यता र सभ्यतालाई छर्लङ्ग पार्ने उनको भनाइ छ ।

बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र निलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजक भइ स्थानीय स्तरमा सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमती प्रदेश स्तरीय साहित्य महोत्सबको शुक्रबार धादिङबेसीमा उद्घागन गरिएको हो ।

बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघीयसरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्रिी रामनाथ अधिकारीले शुभकामना व्यक्त गर्दै साहित्यले सम्राटहरुलाई समेत नाङ्गो पार्ने शक्ति हुने भएकोले सहत्यको संरक्षण र प्रवर्धनमा सघाउने बताए ।

बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता गोबिन्द लम्साल, निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दहाल, नीलकण्ठ बालमन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष दिपक कोइराला, महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका अध्यक्ष विष्णु आचार्य, लगायतले भाषा, साहित्य कला, संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले विधागत रुपमा सघाउनु पर्ने र स्थानीय सरकारले समेत लगानी गरेर पठन र अध्यायन संस्कृतिको विकासमा योगदान गर्नुपर्ने बताए ।