हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार कटिबद्ध भएको बताएका छन् ।

यातायात व्यवसायीहरुलाई बाधा अवरोध पुर्‍याउँदै आएका ऐन, कानुनहरु प्रदेश सरकारले सरोकारवालाहरुको सुझाव लिएर संशोधन गर्न तयार रहेको उनले जानकारी गराए ।

नारायणी यातायात व्यवसायी संघ हेटौंडाको ३६ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले भने, ‘बिमालाई व्यवस्थित गर्न र दुर्घटनामा परेकाहरुको औषधि उपचारका लागि प्रदेश सरकारले कोष स्थापना गर्ने तयारी गरिरहेका छौं ।’ यातायात व्यवसायीहरुको समस्या समाधान गर्न प्रदेश सरकार कटिबद्ध रहेको मुख्यमन्त्री लामाले बताए ।

उक्त कार्यक्रममा श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन यातायात व्यवसायीहरुबाट बाग्मती प्रदेशको राजस्व संकलनमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । गत आवमा यातायात व्यवसायीहरुबाट १३ अर्बभन्दा बढी राजस्व संकलन भएको जानकारी गराएका थिए ।यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न/गराउन मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।

सङ्घले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकोमा यो वर्ष नगद ५१ हजार रुपियाँ सहयोग गरेको छ । त्यस्तै लामो समयदेखि दुर्घटना नगराउने पाँच जना चालकलाई जनही नगद १० हजार रुपियाँ सहित सम्मान गरिएको छ । चालक हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई सम्मान गरिएको हो ।

साधारणसभामा बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले  बाेलेका थिए ।

साधारणसभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरको टिमले व्यावसायीको स्वास्थ्य परीक्षण गरेको थियो । सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठकाे सभाध्यक्षतामा भएकाे कार्यक्रम सङ्घका महासचिव सरोज खनालले सञ्चालन गरेका थिए। नारायणी यातायात व्यवसायी संघमा १३ हजार यातायात व्यवसायी आवद्ध छन् ।