हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रको सुरक्षामा नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन ।
नेपाली सेनाको मध्य पृतना हेटौँडाले महाशिवरात्रि तथा २६२ औं नेपाली सेना दिवसको अवसरमा यहाँ शनिबार आयोजना गरेको विविध सैनिक प्रदर्शनी–वाकथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता २०८१ कार्यक्रममा बाेल्दै उनले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
उनले जनतालाई नै केन्द्रबिन्दुमा राखेर देशका कुनाकाप्चामा जनहितका कार्यहरू गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाका लागि नेपाली सेना निरन्तर लाग्दै आएको भन्दै गौरवशाली इतिहास रहेको सेनाले राष्ट्रलाई पर्न आउने विभिन्न विपत्तिमा जनधन क्षति हुनबाट बचाउन सहयोग गर्दै स्मरण गरे ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश स्तरमा आयोजना गरिएको यस वाकथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता–२०८१ ले बागमती प्रदेशमा रहेका जनतालाई नेपाली सेनाबारे जान्ने बुझ्ने अवसर प्राप्तभएको र सेना प्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, मध्य पृतनापति हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुख सचिव एवम् प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, बाहिनीपति, प्रदेश तथा मकवानपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्