काठमाडौं । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयमा २५ वटा केन्द्रीय सङ्गठन प्रतिस्पर्धाका लागि दर्ता भएका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनको कार्यतालिका अनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएको जानकारी दिए ।

उनले तीन क्याम्पसहरु नेपाल ल क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस र जनकपुरको रारा (रामस्वरुप रामसागर बहुमुखी क्याम्पस) मा मङ्गलबार सङ्गठन तथा समूह दर्ता भएको जानकारी दिए । स्ववियु निर्वाचनमा सङ्घ, सङ्गठनका साथै समूह पनि दर्ता गर्न सकिने व्यवस्था रहेको उनको भनाइ छ ।

त्रिविमा दर्ता हुने सङ्गठनहरु अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी) वैद्य समूह, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी (विप्लव), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (छैठौं) मसाल, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी सङ्घ, अनेरास्ववियु (पाँचौं), विद्यार्थी जनमत सङ्घ, नेपाल विद्यार्थी मोर्चा दर्ता भएका छन् ।