हेटाैँडा । चोर भनी प्रतिकार गर्ने क्रममा छोराको मृत्यु भएको घटनामा मकवानपुर प्रहरीले बाबुआमालाई नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर भ्लोन र आमा ६३ वर्षीया देवीमायाले चोर भनी प्रतिकार गर्ने क्रममा घाइते भएका ३९ वर्षीय भरतकुमार भ्लोनको उपचारको क्रममा गत फागुन १६ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो । भ्लोन दम्पत्ति पनि प्रतिकारको क्रममा घाइते भएका थिए । भ्लोन दम्पत्तिको भक्तपुरको प्रहरीको निगरानीमा उपचार भइरहेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि थप अनुसन्धान गर्न भ्लोन दम्पतीलाई जिल्ला प्रहरी कार्यालय हेटौंडामा बुधबार ल्याइएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले बताए ।

बिहीबार बेलुका ८ बजेतिर मिनबहादुर र देवीमाया खाना खाने तयारी गर्दै थिए । त्यति नै बेला मुखमा माक्स लगाएका एक युवक छिरेर भ्लोन दम्पत्तिलाई खुर्सानीको धुलो आँखामा हाल्न फालेका थिए । खुर्सानीको धुलो फालेपछि दम्पतीलाई पनि चोर आएको शंका भयो र उनीहरु पनि प्रतिकारमा उत्रिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी एवं प्रवक्ता अर्यालकाअनुसार दम्पतीले भान्सामा जे–जे भेटिन्छ त्यहीले चोरमाथि प्रहार गरेका थिए । अन्धाधुन्ध आक्रमण भएपछि मास्कधारी व्यक्ति पनि बुढाबुढीमाथि जाइलागे । दुई पक्षबीच भीडन्त भयो । अन्ततः दम्पतीले चोरलाई नियन्त्रणमा लिएर बाँधेर प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा चोर भनिएका व्यक्ति रक्ताम्य अवस्थामा थिए । टाउकोबाट पनि रगत बगिरहेको थियो । मिनबहादुरको हात, मुख र टाउकोमा चोट देखिएको थियो । देवीमायाको आँखा र हातमा चोट लागेको थियो ।

प्रहरीले त्यसपछि तीनै जनालाई गाडीमा हालेर हेटौंडा अस्पतालमा ल्यायो । हेटौंडा अस्पतालबाट थप उपचारका लागि चोर भनिएका व्यक्तिलाई राति नै चितवनस्थित भरतपुर अस्पताल रिफर गरियो । उपचारको क्रममा उनको मृत्यु भयो । हेटौंडा अस्पतालमा उपचार गराइरहेका भ्लोन दम्पत्तिलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

फागुन १६ गते बिहान थप अनुसन्धान गर्न भ्लोनको घरमा पुगेको प्रहरी टोलीले घरबाहिर एउटा झोला फालेको अवस्थामा फेला पारेको थियो । उक्त झोलाभित्र पासपोर्ट र नागरिकता फेला पर्‍यो । जुन पासपोर्ट भ्लोन दम्पतीकै छोरा भरतको थियो । भरत दुई वर्षदेखि घर फर्किएका थिएनन् । बाबुआमाले चोर नै भनेर प्रतिकार गरेको जनाएका छन् । ‘आफ्नो छोरा भनेर चिनिएको भए यस्तो किन गरिन्थ्यो ?’, देवीमायाले भनिन्, ‘नचिताएको कुरा भयो ।’

‘मास्क लगाएर आएको र खुर्सानी आँखामा हाल्न फालेकाले चोरै हो भन्ने लाग्यो, आखिरमा छोरा रहेछ । के थाहा ?, उसले पनि म छोरा हो भनेन, हामी बुढाबुढीले पनि चिनेनौं,’ देवीमायाले भनिन् ।

गत भदौमा भ्लोन दम्पतीको घरमा चोर पसेर सुन र नगद लुटेर लगेको थियो । भ्लोन दम्पतीको घर एकान्तमा छ । मृतक भरत भ्लोन उनीहरुका जेठो छोरा थिए । मकवानपुरका एक वरिष्ठ प्रहरी अधिकृतले भरत घरमा चोरी गर्न आएको अनुमान गरेका छन् । ‘धनमाल चोरेर लैजाने नियतमा आएकाले बाबुआमालाई आक्रमण गरेका हुन्,’ उनले भने, ‘भरतले बेलाबेलामा आमालाई तँ बोक्सी होस् भनेर धम्क्याउने र बाबुलाई सम्पत्ति दिइनस् भनेर थर्काउने गरेको पाइएको छ ।’

प्रहरीले घटनास्थलबाट मास्क, खुर्सानीको धुलो र फलामको ढुंग्रोलगायतका सामान बरामद गरेको थियो ।