काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन भएका छन् । संघको मंगलबार आयोजित प्रथम अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्य समिति चयन गरेको हो ।
अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधानमा उल्लेखिन दलित समुदायको हकअधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । साथै थप अधिकार प्राप्तिका लागि पनि संघर्ष जरुरी रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले भने, “दलितको संवैधानिक अधिकार पनि कटौती हुने खतरा बढ्दै गएको । त्यसको रक्षाको निम्ति पनि एकजुट हुन जरुरी छ । नेपाली कांग्रेस दलित समुदायको हकअधिकारको लागि २००७ सालदेखि लड्दै आएको छ । बागमती प्रदेश सरकारले दलित समुदायको आयआर्जनका कार्यक्रम बढी प्राथमिकता दिएको छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जीतु गौतमले राज्यका सबै संरचनामा दलित सहभागितालाई अनिवार्य बनाउन कानुन निर्माणमा जोड दिए।
दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले राजनीतिक घटनाक्रमले संविधान नै संकटमा पर्ने खतरा बढ्र्दै गएकाले संविधान रक्षाको निम्ति पनि एकतालाई बलियो बनाउनुपर्ने बताए।
संघको उपाध्यक्षमा विष्णु विक, चण्डिका नेपाली र सचिवमा गोपाल विश्वकर्मा चयन भए ।












प्रतिक्रिया दिनुहोस्