हेटाैँडा । मकवानपुरका पहाडी मतदान स्थलमा थोरै मतदाता रहेका छन् । विकट क्षेत्रमा कम मतदाता रहेका छन् । फागनु २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको राक्सिराङ–८, स्थित श्री निमावि ठूलो टोडके मतदानस्थलमा २ सय ७३ मतदाता रहेका छन् ।

राक्सिराङ–२, को थुम्की आधारभूत विद्यालयमा मतदान स्थलमा ३ सय ६२ मात्र मतदाता छन् । मकवानपुरगढी–८, ऋषेश्वर आधारभूत विद्यालयमा ३ सय ८० जनामात्र मतदाता छन् । कैलाश–७, स्थित प्रजा विकास प्राविको मतदानस्थलमा ४ सय ९७ जना मतदाता छन् । कैलाशकै सत्यदेवी प्रावि मतदान स्थलमा ५ सय ३ मतदाता छन ।

जिल्लामा ६ सयभन्दा कम मतदाता रहेका १९ मतदानस्थल छन् । भौगोलिक विकटताले गर्दा कम मतदाता भएपनि मतदानस्थल राख्नु परेको प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए । सामान्यत एक हजार मतदाता भएका स्थानमा केन्द्र राख्ने मापदण्ड भए पनि भौगोलिक विकटताले उक्त मापदण्ड लागू गर्न नसकिएको उनले बताए ।

जिल्लामा सबै भन्दा धेरै हेटौंडा–४ स्थित भुटनदेवी मावि मतदानस्थल ९ हजार २ सय ६७ मतदाता रहेका छन् । उक्त मतदानस्थल अन्तर्गत ९ वटा मतदान केन्द्र रहेका छन् । त्यसपछि हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा ८ हजार ९ सय ३८ मतदाता छन । उक्त मतदानस्थलमा ९ वटा मतदान केन्द्र रहेका छन् ।

जिल्लाका १ सय ६७ मतदानस्थलमा ३ सय ७४ मतदान केन्द्र रहेका छन् । १ सय ५९ मतदानस्थल विद्यालयमा रहेका छन् । ८ वटा मतदानस्थल वडा कार्यालयमा रहेका छन्, बाख्रापालन स्रोत केन्द्र भवन, खोप केन्द्र, शीत भण्डार र रोपवेको चौरमा राखिएको छ । बकैया गाउँपालिका–११ मतदानस्थल खोप केन्द्रमा राखिएको छ । बागमती गाउँपालिकाको २ र ६ नम्वर वडा कार्यालयमा मतदानस्थल राखिएको छ ।

मकवानपुर–१, मा ६२ मतदान स्थलमा १ सय ७८ मतदान केन्द्र र १ मा १ लाख ५८ हजार ४ सय ३५ मतदाता छन् । मकवानपुर–२, मा १ सय ५ मतदानस्थलमा १ सय ९६ मतदान केन्द्र र १ लाख ५६ हजार ८९९ मतदाता छन् ।

मकवानपुर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुईवटा निर्वाचन क्षेत्रमा १६ दलका २९ जनाले उम्मेदवारी दिएका छन् । १५ जनाले स्वतन्त्र रूपमा मनोनय दर्ता गराएका छन् । मकवानपुर–१, मा १३ दलका १३ जना र स्वतन्त्र १० जना गरी २३ जनाले उम्मेदवारी दिएका छन् । मकवानपुर–२, मा १६ दलका १६ र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका छन् ।