हेटाैँडा ।  पोल्ट्री र होटेल व्यवसाय गर्दै आएका प्रकाश गौतम अब नागरिकको आवाज उठाउने, नीति नियम र ऐन कानुन बनाउने थलो संसद्मा पुगेका छन । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएसँगै उनको यात्रा अब राष्ट्रिय राजनीतितर्फ मोडिएको छ । २०४५ कात्तिक ४ गते काभ्रेपलाञ्चोकमा जन्मिएका गौतम हाल हेटौँडा उपमहानगरपालिका–१७, चुच्चेखोला बसोबास गर्दै आएका छन् ।

स्नातकसम्मको अध्ययन गरेका रास्वपा मकवानपुरका उपाध्यक्ष रहेका गौतमलाई निर्वाचनकै क्रममा पार्टीको थप जिम्मेवारीसमेत प्राप्त भएको छ । पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुली चुनावी प्रचारप्रसारकै क्रममा पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेसँगै गौतमले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत पाएका थिए ।

उनले नागरिकमा रहेको निराशासँगै परिवर्तनको मत आफूले प्राप्त गरेको बताए । विगत तीन वर्षदेखि निरन्तर समाजसेवामा संलग्न रहेको भन्दै उनले आफूलाई पुग्ने र जनतालाई न्याय दिने शिक्षा आफूसँग रहेको बताए । “आफ्नो वाचापत्र अनुसार काम गर्ने हो र त्यसबाट एक इन्च पनि तलमाथि हुने छैन” उनले भने, “जनताको मत पाइसकेको छु, पाँच वर्षपछि पुनः आफ्नो कामको मत लिने हिसाबले काम गर्छु ।” उनी भन्दछन , “पदको मर्यादा राखेर काम गर्ने छु, बदनाम हुने काम गर्ने छैन र म भ्रष्टाचार गर्दिनँ । नागरिकका आवाजलाई संसद्सम्म पुर्याउने छु । सोचेभन्दा बढी मत र जनताको धेरै माया पाएको छु । परिवर्तनका लागि मत प्राप्त भएको छ । यसका लागि  सबैमा धन्यवाद दिन्छु,” उनले भने ।

मतदातामा गुम्सिएको पीडा मतमा व्यक्त भएको छ । मतको अवमूल्यन हुन दिने छैन । आफूसँग प्रतिस्पर्धा गरेका सबैलाई मिलाएर सद्भाव देखाउँदै उनीहरुको पनि सरसल्लाहमा अगाडि बढ्ने बताउँदै गौतमले  पहिलो प्रयासमै ३६ हजार ३० मत प्राप्त गरेका थिए । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको यस क्षेत्रमा यो पटक नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डिना निकटतम प्रतिस्पर्धी रहेकी थिइन । २०७९ मा निर्वाचित राप्रपाका दीपकबहादुर सिंहले भने धरौटीसमेत जोगाउन सकेनन् ।

गौतमले मासिक रूपमा सांसदसँग कुराकानी गर्ने गरी निरन्तर रूपमा कार्यक्रम चलाउने, स्वास्थ्यतर्फ प्रत्येक वडामा चिकित्सक, नर्स, प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्डसहित सेवा विस्तार, ज्येष्ठ नागरिकको घरमै परीक्षण र घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने आफ्नो प्रतिबद्धतालाई पूरा गर्ने अठोट लिएका छन । उनले हेटौँडा औद्योगिक क्षेत्रलाई सुदृढ र व्यवस्थित गर्दै मयूरधाप औद्योगिक क्षेत्रलाई मूर्तरूप दिई बहुराष्ट्रिय कम्पनी भित्र्याएर उत्पादन वृद्धि गर्ने र एक घर एक रोजगारीको लक्ष्य हासिल गर्ने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएका छन । यस्तै धार्मिक, प्राकृतिक, साहसिक पर्यटन विकास, नदी बोटिङ, हरित बेल्ट, घरबास, सांस्कृतिक संरक्षणमार्फत स्थानीय रोजगारी र आयआर्जन वृद्धि गर्ने उनको प्रतिबद्धता रहेको छ । शिक्षा क्षेत्रमा भएको दलीयकरण अन्त्य गरी विद्यालय व्यवस्थापन समितिमा विज्ञ तथा अभिभावकलाई समावेश गर्ने र विद्यार्थी युनियनलाई कुनै पनि राजनीतिक दलसँगको आबद्धताबाट मुक्त राखी शैक्षिक वातावरण निष्पक्ष र गुणस्तरीय बनाउने उनको प्रतिबद्धता छ ।