हेटौँडा । सव डिभिजन वन कार्यालय हेटौँडा को आयोजनामा चित्रेपानी सामुदायिक वन क्षेत्रमा अर्धवार्षिक समन्वय बैठक सम्पन्न भएको छ।
कार्यालयको चालु आर्थिक वर्ष ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा कबुलियती वन उपभोक्ता समूहसँग समन्वय गर्दै बैठक आयोजना गरिएको हो।
बैठकमा सहभागी वन समूहका पदाधिकारीहरूले वन डढेलो नियन्त्रणका लागि सबै पक्षको सक्रिय सहयोग आवश्यक पर्नेमा जोड दिएका छन्। स्थानीय तह, सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता सचेत र चनाखो भएमा डढेलो नियन्त्रण गर्न सकिने उल्लेख गर्दै यसका लागि व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
त्यस्तै, सरकारले डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहलाई आवश्यक बजेट व्यवस्था गरी समयानुकूल कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। डढेलो नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने सामुदायिक वन समूहलाई पुरस्कृत गरी प्रोत्साहन गर्नुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो।
बैठकमा बच्चुराम सुवेदी र प्रदिप अर्याल लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, कबुलियती वन समूहका प्रतिनिधि, वन कर्मचारी, उपभोक्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्