हेटौँडा । डिभिजन वन कार्यालय मकवानपुरले सञ्चालन गरेको साताव्यापी वन डढेलो व्यवस्थापन सप्ताह शनिबार सम्पन्न भएको छ।
सप्ताहभर अग्निरेखा निर्माण, सरसफाइ, जनचेतनामूलक कार्यक्रम, गोष्ठी तथा प्रचार–प्रसार लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रमको अन्तिम दिन शनिबार रातोमाटेदेखि कमाने, नागस्वती, गौरीटार, हातीलेट, चौघडा, न्यूरेनी, पिप्लेपोखरा हुँदै वनस्खण्डी देवी सामुदायिक वनसम्म सचेतना र्याली आयोजना गरिएको थियो। र्यालीको व्यवस्थापन सव–डिभिजन वन कार्यालय, हेटौँडाले गरेको थियो।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रबंशीले वनको अमूल्य सम्पदालाई डढेलोबाट जोगाउन उपभोक्ता समूह सधैं सक्रिय रहनुपर्ने बताए। उनले वनबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै डढेलो नियन्त्रणमा वन कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, योजना शाखा प्रमुख हेमकुमार पाठकले सामुदायिक वनहरूले आफ्नो क्षेत्रको वनलाई डढेलोबाट जोगाउँदै वातावरण संरक्षणसँगै वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा ध्यान दिनुपर्ने बताए।
सव–डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख बच्चुराम सुवेदीले सबैको सामूहिक प्रयासबाट मात्र वन डढेलो नियन्त्रण सम्भव हुनेमा जोड दिए। कार्यक्रममा वनका कर्मचारी, विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। यस वर्षको नारा “वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता” रहेको छ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्