हेटाैँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा घाँस काट्न गएकी एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका– ३, जातीपोखरीका वीरेन्द्र वाइबाकी नाै वर्षीया छोरी लमिना वाइबाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लमिना घाँस काट्न भन्दै घरबाट करिब पाँच सय  मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगल गएकी थिइन्। सोमबार दिउँसो करिब साढे ३ बजे घरबाट निस्किएकी उनी बेलुकासम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।

परिवार र स्थानीयवासीले रातभर खोजी गरे पनि बालिकाको अवस्था पत्ता लाग्न सकेको थिएन। मंगलबार बिहान खोजी गर्ने चुत्रोघारीडाँडाको भिरबाट करिब  तीन सय  मिटर तल उनी मृत अवस्थामा फेला परेकी प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

घटनाबारे इलाका प्रहरी चौकी सिस्नेरीलाई स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट समेत टोली परिचालन गरिएको प्रवक्ता बोगटीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानअनुसार बालिका घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ।घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।