हेटाैँडा । मकवानपुरको मनहरी क्षेत्रमा ठुलो परिमाणमा लागुऔषध गाँजासहित एक गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब सवा ६ बजे मनहरी गाउँपालिका– ९, स्थित हरियाली सामुदायिक जंगलको भित्री बाटोमा सवारी रोकी जाँचका क्रममा १७१ केजी गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार राक्सिराङ गाउँपालिका– १, भावरबाट मनहरी– ९ को खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३च २०१४ नम्बरको गाडीलाई शंकाको आधारमा रोकेर जाँच गर्दा गाडीको पछाडि लोड गरिएको अवस्थामा २७ वटा प्याकेट गाँजा फेला परेको थियो ।
उक्त गाडीका चालक राक्सिराङ गाउँपालिका– ४, सितताकका अन्दाजी २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय मनहरीमा ल्याई तौल गर्दा कुल १७१ किलो २१ ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएकाे छ। प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्