हेटौँडा । राष्ट्रिय आर्थिक गणना २०८२ का लागि मकवानपुरमा ५९ गणक परिचालन गरिने भएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय आर्थिक गणनामा तथ्याङ्क सङ्कलनका लागि जिल्लामा ५९ जना गणक र ९ जना सुपरीवेक्षक परिचालन गरिने भएको हो ।

आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरुको विद्यमान सङ्ख्या, अर्थतन्त्रका क्षेत्र, संरचनाअनुसार आधार र वितरणसम्बन्धी तथ्याङ्क उत्पादन तथा प्रकाशन गर्ने उद्देश्यले नेपालमा दोस्रो आर्थिक गणना हुने भएको छ । २०८३ वैशाख २ गतेबाट असार ७ गतेसम्म हुने आर्थिक गणनाको लागि कार्यालय स्थापना, गणक तथा सुपरीवेक्षण नियुक्ति, तालिमलगायतका तयारी पूरा भइसकेको जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा आर्थिक गणना सञ्चालनको तयारीका लागि सरोकारवालाहरुसँग बुधवार हेटौँडामा छलफल तथा अन्तरक्रिया गर्दै गणनालाई प्रभावकारी बनाउनको लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालयका सुपरीवेक्षक रुद्र बोगटीले जिल्लामा गणक र सुपरीवेक्षक नियुक्त गरी गणनाको अन्तिम तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार आर्थिक गणनाका लागि हेटौँडा उपमहानगरपालिकामा ३२, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा ५÷५ जना, बकैयामा ४ जना, बागमती र मकवानपुरगढीमा ३÷३ जना, भीमफेदी, राक्सिराङ र इन्द्रसरोबरमा २÷२ जना र कैलाश गाउँपालिकामा १ जना गणक खटाइने आर्थिक गणना कार्यालय मकवानपुरले जनाएको छ ।

उनका अनुसार प्रत्येक प्रतिष्ठानमा प्रश्नावलीअनुसार प्रत्यक्ष अन्तरवार्ता वा इ–सेन्सस प्रणालीबाट तथ्याङ्क सङ्कलन गरिनेछ । औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलापका १८ वटा क्षेत्रहरुलाई आर्थिक गणनाले समेट्ने बोगटीले जानकारी दिए । जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजकसमेत रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आर्थिक गणनाका लागि आउने गणकहरुलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन सहजीकरणका लागि सबै सरोकारवाला निकायलाई अनुरोध समेत गरेका छन् ।

जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघ, उद्योग संघ, प्याब्सनलगायतका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी अन्तरक्रियामा अधिकारीले यथार्थ तथ्याङ्क सङ्कलन गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए । गणकलाई उपलब्ध गराइएको तथ्याङ्ककको सामुहिकतामा मात्रै उपयोग हुने तथा व्यक्तिगत रुपमा दुरुपयोग नहुने कानुनी सुनिश्चितता रहेको भन्दै उहाँले सबैले निर्धक्क तथ्याङ्क उपलब्ध गराउन पनि अनुरोध गरे ।

कार्यक्रममा बोल्दै मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले आर्थिक गणनाका क्रममा उद्योगी व्यवसायी गणकलाई सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए । नेपालमा पहिलो पटक २०७५ सालमा आर्थिक गणना भएको थियो ।