हेटौँडा । नियमित ध्यान, योग तथा व्यायामले मानसिक स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्ने र यसले आत्महत्या न्यूनीकरणमा सकारात्मक भूमिका खेल्न सक्ने बताइएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार मकवानपुरका सञ्चारकर्मीहरूसँग “आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङ” विषयमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा सहभागीहरूले खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न भई तनाव कम गर्न सकिने बताएका थिए ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले मानसिक समस्या देखिएमा परिवारका सदस्यसँग खुला रूपमा कुरा गर्न तथा आवश्यक परे स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिए । उनका अनुसार निराशा वा तनावको अवस्था आएमा जुनसुकै समयमा निःशुल्क हटलाइन नम्बर ११६६ मा फोन गरी मनोपरामर्श सेवा लिन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । नेपालमा पनि आत्महत्या गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । गत आर्थिक वर्ष २०८१-८२ मा देशभर ७ हजार ५५ जनाको मृत्यु आत्महत्याबाट भएको तथ्याङ्क छ । बागमती प्रदेशमा दैनिक २० जनाभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा प्रदेशमा ७५६ पुरुष र ५९४ महिलाको आत्महत्याबाट मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०-८१ मा १४० जना, २०८१-८२ मा १३० जना र चालु आर्थिक वर्षको चैतसम्म ७९ जनाले आत्महत्या गरेका छन् । कार्यक्रममा आत्महत्या व्यक्तिको कमजोरीका कारण मात्र नभई आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक कारणहरूको संयुक्त प्रभावका कारण हुने उल्लेख गरिएको थियो । अनुसन्धान अनुसार ९० प्रतिशतभन्दा बढी आत्महत्याका घटनाहरू मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित हुने गरेका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने भएकाले समाचार प्रकाशन तथा प्रसारण गर्दा संवेदनशीलता अपनाउन आग्रह गरे । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरे, अन्य कर्मचारी तथा मकवानपुर जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्