हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग द्वारा गरिएको छापामारीप्रति आपत्ति जनाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् ।

सोमबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले हेटौँडा र काठमाडौँस्थित आफ्ना घर तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा विभागले छापा मारी कागजात नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले आफू मुख्यमन्त्री बनेपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गरेका छन् ।

उनका अनुसार प्रदेश सरकारको कार्य सञ्चालनमा खर्च कटौती, आर्थिक मितव्ययिता तथा आवश्यकता र औचित्यमा आधारित योजना तथा कार्यक्रममार्फत बजेटमा पारदर्शिता कायम गर्ने प्रयास भइरहेको छ।

मुख्यमन्त्री बानियाँले तीन तहका सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय सरकारले गर्ने सकारात्मक काममा प्रदेश सरकारको साथ रहने बताएका छन् । साथै, राज्यका जुनसुकै निकायबाट हुने अनुसन्धानलाई सकारात्मक रूपमा लिएको स्पष्ट पार्दै आवश्यक परे भौतिक रूपमा उपस्थित भएर सहयोग गर्न तयार रहेको जनाएका छन् ।

तर सञ्चार माध्यममा आएको विवरणअनुसार अकस्मात् गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमा आघात पुगेको उनको भनाइ छ। उहाँले यसप्रति असन्तुष्टि जनाउँदै पनि कानूनी तथा संवैधानिक दायराभित्र हुने सबै अनुसन्धानमा पूर्ण समर्थन रहने दोहोर्याएका छन् ।

 उनले बागमती प्रदेशवासी तथा आफ्ना शुभेच्छुकलाई भ्रमित वा चिन्तित नहुन आग्रह गर्दै जनताको सेवामा सधैँ प्रतिबद्ध रहने विश्वास दिलाएका छन् ।