हेटौँडा । पूर्ण रूपमा मनसुन सक्रिय हुन ढिलाइ भएपछि बागमती प्रदेशमा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ । प्रदेशमा शुक्रबारसम्म कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये १४ हजार ४१९ दशमलव ५२ हेक्टर अर्थात् १२.५९ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा २०.५१ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।

प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५२९ दशमलव ४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । पर्याप्त वर्षा नहुनु र सिँचाइ सुविधाको अभावका कारण यस वर्ष रोपाइँको गति सुस्त बनेको हो । विशेषगरी अधिकांश पहाडी जिल्लामा आकाशे पानीकै भरमा खेती हुने भएकाले मनसुन ढिलो सक्रिय हुँदा रोपाइँ प्रभावित भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशका १३ जिल्लामध्ये हालसम्म सबैभन्दा बढी रोपाइँ काठमाडौँमा ६० प्रतिशत भएको छ । त्यसपछि ललितपुर र भक्तपुरमा ५५–५५ प्रतिशत, काभ्रेपलाञ्चोकमा २६ प्रतिशत, दोलखामा १५ प्रतिशत, रामेछापमा १२ प्रतिशत, सिन्धुपाल्चोकमा १०.२० प्रतिशत, सिन्धुलीमा १०.१६ प्रतिशत, रसुवामा ८.४२ प्रतिशत र नुवाकोटमा ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

मुख्य धान उत्पादन हुने जिल्लामा भने रोपाइँको अवस्था निकै कमजोर देखिएको छ । चितवनमा ०.४४ प्रतिशत, धादिङमा ०.८५ प्रतिशत तथा मकवानपुरमा १.१८ प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बरिष्ठ कृषि अर्थविज्ञ सुजन कँडेलले मनसुन ढिलो सक्रिय भएकाले यस वर्ष रोपाइँ गत वर्षको तुलनामा कम भएको बताए । पर्याप्त आकाशे पानी नपर्नु र सिँचाइको अभावका कारण किसानले समयमै रोपाइँ गर्न नसकेको उनको भनाइ छ ।

प्रदेशका १३ जिल्लामा कुल ४२६५५६.८ हेक्टर खेतीयोग्य जमिनमध्ये काठमाडौँमा ५९२४, ललितपुरमा ४१६३, भक्तपुरमा २६९९, चितवनमा २७३२४.९ मकवानपुरमा ८४९२.५, नुवाकोटमा १३१३१, रसुवामा १२२३ धादिङमा १११५९, सिन्धुलीमा १३४४५, रामेछापमा ७८५९, दोलखामा २८१४, काभ्रेपलाञ्चोकमा ८६३४ र सिन्धुपाल्चोकमा ७६५६ हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ ।