हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार, राहत र पुनःस्थापनाको व्यवस्थापनका लागि रसुवा पुगेका छन। बाढीका कारण रसुवा जाने मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी उनी रसुवा पुगेका हुन् । रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति हुनुका साथै स्थानीयवासी तथा आन्तरिक र बाह्य पर्यटकसमेत विभिन्न स्थानमा फसेकाले प्रदेश सरकारले उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर काम अघि बढाएको मुख्यमन्त्री थापाले बताए ।

रसुवा तथा नुवाकोटमा फसेका नागरिक र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन यातायातको व्यवस्थापनसँगै खाना, खानेपानी, जेनेरेटर, डिजेल, पेट्रोललगायत अत्यावश्यक सामग्री तत्काल व्यवस्थापन गर्न मुख्यमन्त्री थापाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन । विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा जेनेरेटर र इन्धनको व्यवस्था गरी विद्युतीय सेवा यथाशीघ्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

धुन्चे जाने मुख्य सडक बाढी र पहिरोका कारण अवरुद्ध भएपछि सडक सञ्चालनका लागि काम सुरु गरिएको छ । सडक खुलेपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा फसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुने प्रदेश सरकारको अपेक्षा छ ।

नुवाकोटको ढिकुरे, बाहुनबेसी, नर्डा, छाप, लच्याङ, नौकुण्ड, सरनथली, पाटिखर्क, चिलाउने गाउँ, घिचेत, पुङखोला, पच्र्याङ, भोर्ले, अम्बास र बेत्रावती हुँदै रसुवा जाने सडकखण्डलाई सञ्चालनमा ल्याउन आवश्यक काम सुरु गरिएको मुख्यमन्त्री थापाले बताए। बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएका स्थानमा वैकल्पिक सडक प्रयोग गर्ने र आवश्यक परे पैदलै भए पनि प्रभावितलाई यातायात सञ्चालन भएको स्थानसम्म पुर्‍याउने व्यवस्था मिलाइने उनले बताए।

मुख्यमन्त्री थापाले रसुवा र नुवाकोटका विभिन्न स्थानमा आन्तरिक तथा बाह्य पर्यटकसमेत फसेको जानकारी आएको बताउँदै उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी जिरोकिलोसम्म ल्याएर त्यहाँबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइने जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमै रहेका पीडितका लागि पनि राहत सामग्री व्यवस्थापन भइरहेको उनले बताए। घाइते तथा विपद्मा फसेका नागरिकको उद्धार, उपचार, खाना र आवासको व्यवस्था प्रदेश सरकारले सङ्घीय सरकार तथा स्थानीय तहसँगको समन्वयमा अघि बढाएको उनको भनाइ छ ।

मुख्यमन्त्री थापा भदौ १० गते बेलुकादेखि नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहत व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए । नुवाकोटमा आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायसँग समन्वय गरेपछि उनी रसुवा पुगेका हुन।

रसुवा पुगेपछि मुख्यमन्त्री थापाले जिल्लामा कार्यरत सुरक्षा निकाय, स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी उद्धार, उपचार र राहतको अवस्थाबारे जानकारी लिएका छन। उनले विपद् परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउन प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए।

मुख्यमन्त्री थापाले विपद्को अवस्थामा उद्धार र राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाना, आवास, औषधि, इन्धन तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए। रसुवामा भएको क्षतिको थप विवरण सङ्कलन, जोखिमयुक्त क्षेत्रको पहिचान तथा तत्कालीन र दीर्घकालीन व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।