हेटौँडा । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका–९ नम्बर वडा कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचनबाट आएको सरकार भए पनि बालेन्द्र नेतृत्वको सरकारका क्रियाकलाप स्वेच्छाचारी रहेको र मुलुकलाई अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको दाबी गरे ।
सामुदायिक सङ्घसंस्थामाथि प्रतिबन्ध लगाउन खोज्नु, बिना प्रमाण जथाभावी धरपकड गर्नु र लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूलाई निषेध गर्न खोज्नु त्यसका प्रमाण रहेको उनको भनाइ थियो ।
एमालेले विगतदेखि नै युवालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उहाँले युवाका माग र मुद्दा सम्बोधन गर्न तथा राजकीय निकाय, पार्टी कमिटी र नेतृत्वमा युवालाई प्राथमिकता दिइँदै आएको बताए।
चाडपर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले वडा र युवालाई पार्टी कामको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिए । जनताको सुखदुःखमा पार्टी सधैँ साथमा रहने उनले बताए ।
वडा कमिटी अध्यक्ष बासुदेव प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटी सदस्यहरू रघुनाथ खुलाल, रामचन्द्र राई, गीता कार्की र सुमित्रा काफ्लेलगायत जिल्ला, नगर तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको वडा सचिव सञ्जय अर्यालले जानकारी दिए ।













प्रतिक्रिया दिनुहोस्