हेटौँडा । मकवानपुरका अग्रज साहित्यकार तुलसी घिमिरेद्वारा लिखित गजल सङ्ग्रह ’घामका फूलहरू’ शनिबार हेटौँडामा विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको आयोजनामा २१५ औँ गजल यात्राका साथ घिमिरेद्वारा लिखित गजल सङ्ग्रह विमोचन गरिएको हो ।

मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका अग्रज शिक्षासेवी तथा अग्रज सञ्चार उद्यमी देव श्रेषठ, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले पुस्तकको लोकार्पण गरेका हुन् । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको सङ्ग्रहमाथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए ।

कार्यक्रममा साहित्यकार स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ, हरि पौड्याललगायतले घिमिरेद्वारा लिखित गजल सङ्ग्रहबाट गजल वाचन गरेका थिए । समीक्षक घनश्याम घिमिरेले घामका फूलहरूको समीक्षा गर्दै पाको उमेरका लेखकले युवा जस्तै जोश जाँगर सहितको गजल लेखेको बताए । लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई गजलमार्फत सचित्र वर्णन गर्न सफल हुनुभएको उनले प्रतिक्रिया दिए ।

२०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मेका लेखक घिमिरेका यसअघि फूलका कुरा जूनका कुरा गीत सङ्ग्रह २०७१ र माटोको मोह कविता सङ्ग्रह २०८० प्रकाशित कृति हुन् । गजल सङ्ग्रहको रुपमा घिमिरेको पहिलो कृति हो । उनको सङ्ग्रहमा ७० वटा गजल समेटिएका छन् । साहित्यकार देवराज तिवारीले घिमिरेको सङ्ग्रहमा भूमिका लेखेका छन ।

२१५ ओैं गजल यात्राका सन्दर्भमा गजलकारहरु मुस्कान तिमल्सिना, मिथिला अधिकारी, डिबी वर्ताैलालगायतले गजल वाचन गरे । गजलको उन्नयन र प्रवर्धनमा काम गरिरहेको गजल मञ्च मकवानपुरले हरेक महिना गजल यात्राको आयोजना गर्दै आइरहेको छ भने गजल उत्सव तथा महोत्सवका साथै विद्यालय तहमा गजल प्रशिक्षणको कार्यक्रमसमेत गर्दै आएको मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।