हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बकैया गाउँपालिकाको एघारौं गाउँ सभामा आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले बकैया ८ र ९ मा फलाम खानीको सम्भाव्यता अध्ययनको लागि नेपाल सरकार र बागमती प्रदेश सरकारसँग समन्वय गर्ने बताए ।

बकैया २ कालापानी धियाल तथा बकैया ७ तल्लो सिंतान टोल गोव्रे खहरे सम्म फैलिएर रहेको युरेनियमको लागि सरोकारवाला निकायसँग समन्वय गरिने उल्लेख छ । त्यस्तै सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार नो बुक फ्राइडे कार्यक्रम संचालन, बहुमुखी क्याम्पस संचालन गर्न पहल, भुमि बैक स्थापना, काठको पोल हटाउने लगायतको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

एक वडा एक हाटबजार नीतिलाई निरन्तरता दिइने भएको छ । स्थानीय उत्पादनको बजारीकरण प्रवद्र्धन गरिने सहित बकैया गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । बजेट असार १६ गते ल्याउने तयारी भईरहेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।